


बालेन–डंगोल बीचको चिसोपन हट्दै, कार्यपालिका बैठकको बाटो खुल्ने संकेत

काठमाडौं- काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको कार्यपालिका बैठकको गतिरोध अन्ततः चिर्ने संकेत देखिएको छ। मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलबीच करिब अढाइ महिनापछि बुधबार भएको वार्ताले महानगरमा आशा पलाएको हो।
विवाद, असहमत र संवादविहीनताले लामो समयदेखि प्रभावित कार्यपालिका प्रक्रिया अब क्रमशः सुचारु हुँदै जाने सम्भावना बढेको हो। बुधबार भएको छलफलमा उपमेयर डंगोलसहित प्रमुख दलका तीन वडाध्यक्षहरू सहभागी थिए। छलफलमा कार्यपालिका बैठक चाँडै बोलाउने र बजेटसँग सम्बन्धित एजेन्डालाई प्राथमिकता दिने सहमति जुटेको जनाइएको छ।
काठमाडौं महानगर कार्यपालिकाको बैठक गत पुस १४ यता नबसेको हो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निलम्बनपछि सुरु भएको विवादले मेयर बालेनलाई राजनीतिक र प्रशासनिक रूपमा अलग बनाएको थियो। त्यसैको असरस्वरूप नीतिगत निर्णयहरू ठप्प छन्, र आउँदो १५ असारसम्म ल्याउनुपर्ने वार्षिक बजेटसमेत अन्योलमा थियो।
तर, पछिल्लो संवाद र छलफलले स्थितिमा परिवर्तनको संकेत देखिएको छ। वडाध्यक्षहरूका अनुसार छलफल करिब चार घण्टा लामो थियो र त्यसपछि मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता पनि भएको थियो। बैठक कहिले बस्ने भन्ने विषय तय नभए पनि वातावरण सकारात्मक बनेको जनप्रतिनिधिहरूको बुझाइ छ।
महानगरभित्रको समन्वयविहीनता, संवादविहीनता र असहमतिबीच सुरु भएको यो प्रयासले कार्यपालिका बैठक पुनः नियमित हुने र बजेट समयमा ल्याउने सम्भावना बढाएको छ।

