


इरान–अमेरिका तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो

काठमाडाैं- अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। मंगलबार न्यूयोर्कको दिउँसोको व्यापारमा ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर पुगेको छ। यस्तै, अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि अप्रिलपछि पहिलोपटक उच्च विन्दुमा पुगेको हो।
यस मूल्यवृद्धिको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणी हो, जसमा उनले इरानसँगको आणविक सम्झौता वार्ता सफल नहुने सम्भावना प्रकट गरेका थिए।
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैन्य कर्मचारीका परिवारलाई स्वदेश फर्कन अनुमति दिएको छ भने अनावश्यक कर्मचारीहरू फिर्ता बोलाइसकेको पुष्टि गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वलाई ‘खतरनाक क्षेत्र’ भनेका छन्। उनले इरानलाई आणविक हतियार बनाउन नदिने अडान पनि पुनः दोहोर्याएका छन्।
यता इजरायलले पनि इरानमाथि हमला गर्ने चेतावनी दिँदै यो अवसर ‘सही समय’ भएको दाबी गरेको छ। इरानका रक्षामन्त्रीले भने कुनै पनि आक्रमणको जवाफमा अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने चेतावनी दिएका छन्।
यसले तेल बजारमा प्रत्यक्ष प्रभाव पार्दै कच्चा तेलको मूल्यमा चाप सिर्जना गरेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई नयाँ आणविक सम्झौतामा सहभागी हुन दिएको ६० दिने समयसीमा बिहीबार सकिँदैछ।

