


पोखरामा प्याराग्लाइडिङ दुर्घटना : फेवातालमा खसेका ४ जनाकाे सकुशल उद्धार

पोखरा– पोखरामा बुधबार ल्यान्डिङ गर्ने क्रममा दुई वटा प्याराग्लाइडिङ अनियन्त्रित भई फेवातालमा खस्दा चार जना जोखिममा परे पनि सकुशल उद्धार गरिएको छ।
पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका प्याराग्लाइडिङहरू ल्यान्डिङको क्रममा तालको बीच भागमा खसेका थिए।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले दिउँसो करिब ३ बजे सबैलाई सुरक्षितरूपमा उद्धार गरेको हो।
उद्धार गरिएका व्यक्तिहरूमा भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाईका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

