सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

परियारसहित मुद्दा पर्ने अन्य अधिकारीहरूमा बोलपत्र मूल्यांकन समितिका रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन्।

जारी ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गरे पनि, तुलनात्मक रूपमा महँगो २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ कबोल गर्ने कल्पवृक्ष कोहिनूर जेभीलाई ठेक्का दिइएको थियो।

चार करोड ३१ लाखभन्दा बढी रकम दुरुपयोग भएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया