पञ्जाब र मुम्बईबीचको खेलमा वर्षा बाधक, खेल रद्द भए को जान्छ फाइनलमा ?


काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल-२०२५) को क्वालिफायर-२ मा मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दैछन् ।

गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यो खेल खेलिँदैछ। पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ । तर, टसपछि अहमदाबादमा पानी पर्न थालेको छ ।

यो खेलको विजेता टोली जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सँग भिड्नेछ । जसले पहिल्यै क्वालिफायर-१ जितेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराएर क्वालिफायर-२ मा स्थान बनाएको हो।

दुवै टोली पहिलोपटक प्लेअफमा आमनेसामने हुँदैछन् । यस सिजन पञ्जाब र मुम्बईबीच एकपटक प्रतिस्पर्धा भएको थियो, जसमा पञ्जाबले मुम्बईलाई ७ विकेटले हराएको थियो ।

यस्तो अवस्थामा धेरैजसो फ्यानहरूको मनमा प्रश्न उठेको छ, यदि दोस्रो क्वालिफायर वर्षाको कारण रद्द भयो भने फाइनलको टिकट कसले पाउँछ ?

वास्तवमा, दोस्रो क्वालिफायरका लागि रिजर्भ-डे राखिएको छैन । यसको अर्थ, खेलको नतिजा जुनसुकै हालतमा जुन १ तारिखमै निकाल्नुपर्ने हुन्छ । नियमअनुसार, यदि टसको समयमा झमझम वर्षा हुन्छ भने खेल अतिरिक्त समयमा लैजान सकिन्छ। प्लेअफ खेलहरूका लागि १२० मिनेटसम्मको एक्स्ट्रा समय तोकिएको छ ।

भारतीय समय अनुसार रातको ११ बजेर ५६ मिनेटसम्म खेलको नतिजा निकाल्नका लागि ५–५ ओभरको छोटो खेल गराउन सकिनेछ । यद्यपि, यदि वर्षाका कारण खेल रद्द गर्नुपर्ने अवस्था आयो भने पञ्जाब किंग्स फाइनलमा प्रवेश गर्नेछ । पञ्जाबका लिग स्टेजमा बढी अंक थिए, जसको फाइदा उसलाई मिल्नेछ ।

 

प्रतिक्रिया