गण्डकीमा सार्वजनिक यातायात बन्द: सशस्त्र प्रहरीको स्कर्टिङमा यात्रु गन्तव्यतर्फ


कास्की- सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा गण्डकी प्रदेशमा जारी यातायात बन्द आज पनि यथावत् रहँदा यात्रुहरू चर्को सास्तीमा परेका छन्। पोखरासहित विभिन्न स्थानमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने क्रम जारी छ।

बन्दका कारण पोखरामै अलपत्र परेका सयौँ यात्रुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमार्फत काठमाडौं, चितवन लगायत गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको कोत्रेसम्म स्कर्टिङ गर्दै यात्रुहरूलाई सुरक्षित रुपमा अगाडि पठाइरहेको छ। त्यसपछि नम्बर २३ मनकामना गण तनहुँ र नेपाल प्रहरीको टोलीले यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गर्दै लैजाने व्यवस्था मिलाइएको छ।

यसअघि शनिबार पनि सशस्त्र प्रहरीले पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको थियो।

बन्दका कारण विशेषगरी परीक्षा, उपचार र काम विशेषका लागि आएका यात्रुहरू प्रभावित बनेका छन्। शनिबार मात्र शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई पर्यटक बस र स्कुल बसमार्फत मुग्लिन पठाइएको प्रहरीले जनाएको छ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा जेठ १६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्। बन्दका कारण हजारौँ यात्रु प्रभावित भइरहेका छन्। पोखराबाहेक प्रदेशका अन्य स्थानहरूमा पनि यात्रुहरू अलपत्र परेका छन्।

प्रतिक्रिया