

होली वाइन र एमाले नेता माधव नेपालको साइनो के हो? नालीबेली यस्तो छ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवादमा नेताको आलोचनाका क्रममा कार्यकर्ता पंक्तिबाट खर्चिने शव्द हो– होली वाइन।
खासगरी समानान्तर कमिटी गठनको अभियानमा लागेका नेता माधवकुमार नेपालका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले प्रत्यक्ष र परोक्ष रुपमा पनि आलोचना गर्दा ‘होली वाइन’को प्रसङ्ग जोड्छन्।
सामाजिक अभियन्तादेखि हिन्दू कट्टरवादी सोच राख्नेले पनि कम्युनिस्ट र त्यसमा पनि नेता नेपालको आलोचनाका लागि यहि विषयलाई प्रसङ्गबस जोडिहाल्छन्।
आखिर किन जोडिन्छ? होली वाइन र नेता नेपालको साइनो के हो?
नेपालमा युनिफिकेशन चर्चको सम्मेलन गराउन र त्यसमा सहभागीता जनाउने मुख्य नेता माधव नेपाल हुन्। तत्कालिन नेपाल कम्युनिस्ट पार्टीबाट विभिन्न स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई अनिवार्य उपस्थिति हुनका लागि सर्कुलर जारी गरिएको थियो।
विदेश विभाग प्रमुख रहेका कारणले नेता नेपालको आह्वानमा नै उक्त सम्मेलनमा सहभागीता हुन भनिएको थियो। सो प्रकरणमा नेकपाको स्थायी कमिटीको बैठकमा नेपालले जवाफ दिनु परेको थियो।
जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले युनिफिकेसन चर्च स्थापना गरेका थिए। २०१२ मा उनको निधन भएपछि उनकी श्रीमती हक जा हान मुन ‘म्याडम डाक्टर मुन’ले युनिफिकेशन चर्च र युपीएफको नेतृत्व गर्दै आएकी छिन्। यो विवादास्पद आइएनजिओको सम्मेलन काठमाडौंमा गरिएपछि विवाद भयो।
खासगरी मुनको क्युनिस्ट विरोधी अभियान मात्र नभएर क्रिश्चियन धर्म प्रचारको महाअभियान पनि भएकाले यो सम्मेलन निक्कै आलोचित भएको थियो। तर, नेता नेपालले भने यसको प्रतिरोध गर्दै आएका थिए। नेपालमा युनिफिकेशन पिस फेडेरेशनले यो कार्यक्रम गरेको थियो।
विवादीत भएपछि नेकपामा नेपालको आलोचना भएको थियो। नेता नेपालले उनले युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको, सम्मेलनले नेपाललाई कुनै नराम्रो नगरेको, आफू उसको कार्यक्रममा मात्र ६ पटक सहभागि भएको स्पष्टिकरण दिएका थिए।
अघिकांश स्थायी सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा त्यसबारे प्रश्न तेर्साएपछि बैठकको आठौँ दिनमा नेताले सम्मेलनमा आफ्नो संलग्नताले मुलुकको शान बढाएको दम्भित प्रतिक्रिया दिए। जुन विवरण सतहमा आएपछि नेता नेपालको तिव्र आलोचना भयो।
त्यसबेला नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्त, अग्नी सापकोटालगायतले एकपछि अर्को गर्दै नेपालमाथि प्रश्नहरु गरेका थिए।
स्रोतका अनुसार समिटको बचाउमा प्रधानमन्त्री ओली उत्रिएपछि प्रवक्ता श्रेष्ठले सन् २०१२ को प्रसंग उठाउँदै त्यतिबेला आफु परराष्ट्रमन्त्री भएका बेला एकनाथ ढकाललको यस्तै कार्यक्रम गर्ने प्रस्ताव आउँदा अस्वीकार गरेको बताएका थिए।
भीम रावलले समिटमा सरकार, संसद र शीर्ष नेताको संलग्नतालाई लिएर आत्मआलोचना नै गर्नुपर्ने माग गरेका थिए। सरकारले चर्चसँग आवद्ध संस्थाका नेतृत्वकर्ता एकनाथ ढलालको सम्पत्ति र त्यसको श्रोतको धानविनको माग समेत रावलले उठाएका थिए।
योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्तले पनि समिटमा सरकार, संसद र नेताहरुको संलग्नतालाई सामान्यरुपमा लिन नमिल्ने भन्दै नेतृत्व र नेता नेपालले स्पष्टीकरण दिनु पर्ने बताएका थिए। यो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड बराबरको पुरस्कार पनि दिइएको थियो। नेता नेपालको बचाऊमा ओलीले त्यसबेला बैठकमा भनेका थिए,‘महाधिवेशनमा कुरा गरौंला, प्रतिवेदनमा लगौंला।’
युनिर्भसल चर्चले आयोजना गर्ने हरेक कार्यक्रमको मुख्य पाटो भनेको ‘सच्चा आमाको आर्शिवाद’ हो। यसका हरेक कार्यक्रममा विवाह हुनु वा विवाह गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शिवाद दिनु हो। ‘होली वाइन’ खाएर सच्चा आमाको आर्शिवाद लिएपछि उनीहरु पापमुक्त हुन्छन् र यसरी पापमुक्त भएका जोडीबाट जन्मेका सन्तान असल र शान्तिका अग्रदुत हुन्छन् भन्ने धार्मिक प्रचार त्यसबेला भएको थियो।
होली वाइनको यथार्थ
होली वाइन एउटा विवाह समारोहमा अनिवार्य रुपमा सेवन गर्नुपर्ने तरल पदार्थ हो।
आफ्ना पाप पखाल्नका लागि होली वाइन समारोहमा सरिक हुनुपर्छ भन्ने मान्यता खडा गरिएको छ। यो समारोहमा सरिक नभए आफ्नो पाप पखाल्न सकिँदैन भन्ने सिकाइन्छ।
होली वाइनमा २१ वटा तत्वहरु समावेश गरिएका हुन्छन्। रगतको संकेतसमेत भएको केही बस्तु हुन्छ। होली वाइनमा तीन प्रकारका रक्सी हुन्छन्। यसभित्र सबै तत्वको सांकेतिक बस्तुहरु समावेश हुन्छन्।
होली वाइनमा अभिभावकको मासु र रगत पनि मिसाइएको भनेर दाबी गरिएको छ। आलोचकहरूले यसमा मुनको विर्यसमेत मिसाइएको भनी टिप्पणी गर्छन्। नेपालमा यसको प्रचार एकनाथ ढकाल र सन्तोष पौडेलले गरेका छन्।

