

श्रीलंकाको अध्यक्षतामा बिमस्टेक बैठक, सदस्य राष्ट्रहरूबीच भर्चुअल वार्ता हुँदै

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) का सदस्य मुलुकहरूको १७औं परराष्ट्रमन्त्रिस्तरीय बैठक भोली बिहीबार हुँदै छ । बिमस्टेकको अहिलेको अध्यक्ष श्रीलंका हो ।
हरेक दुई वर्षमा हुनुपर्ने बिमस्टेकको शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ । पाँचौं शिखर सम्मेलनको तयारीका रूपमा पनि अहिलेको १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठकलाई हेरिएको छ ।
यही बेला बिमस्टेकको एउटा सदस्य म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शन चर्किरहेको छ । निर्वाचित सरकारलाई कू गर्दै सत्ता हातमा लिने सैनिक सरकारको तीव्र आलोचना भइरहँदा मंगलबारसम्म सुरक्षाकर्मीको गोली लागेर ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
यस्तो अवस्थामा बैठकका एजेन्डादेखि अन्य विषयमा छलफलका लागि बुधबार सदस्य राष्ट्रहरूका परराष्ट्र सचिवबीच भर्चुअल वार्ता हुँदै छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका केही सदस्य मिलेर बिमस्टेक बनेको हो । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।

