फेला परेपछि महोत्तरीका ७ किशोरीले भने, ‘गायीका बन्न भारत आएका हौं’


महोत्तरी- जिल्लाको भंगहा नगरपालिकाबाट मंगलबार बेपत्ता भएका सात किशोरीलाई नेपाल ल्याउने तयारी गरिएको छ । मंगलबार घाँस काट्न गएका ११ वर्षीया देखि १७ वर्षीया किशोरीहरु बुधबार महोत्तरीको भारतको सीतामढीमा फेला परेका थिए । सीतामढीस्थित रेल स्टेशनमा फेला परेका उनीहरुले सोधपुछको क्रममा गायिका बन्न भारत गएको बयान दिएका छन् ।

मंगलबार घाँस काट्न गएका किशोरीहरु घर नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो । त्यसका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले भारतीय सीमा प्रहरीसँग समन्वय गरी खोजीलाई तीब्रता दिएको थियो ।

फेला परेका उनीहरुलाई सीतामढीबाट घर ल्याउन लाग्दा किन भारत गएको भन्ने प्रश्नमा उनीहरुले गायीका बन्न भारत आएको भनेको एसपी दिनेशराज आचार्यले बताए ।

उनीहरु आफैं भारत गए वा अन्य कसैले लग्यो भन्ने पुष्टि भइसकेको छैन । तर, उनीहरुले प्रहरी तथा आफन्तसँग भने आफूखुशी नै भारत गएको बयान दिएको जिल्लाका एसपी दिनेशराज आचार्यले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले भने, ‘हामीलाई जानकारी आएदेखि नै खोजी गरिरहेका थियौं। उनीहरुलाई नेपाल ल्याउने काम भइरहेको छ।’ उनीहरुको साथका अरु कोही नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ।

उनीहरुलाई भेरिफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको तर, उनीहरुको बयानलाई मात्र विश्वास गर्ने आधार नभएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए ।

 

प्रतिक्रिया