बसन्तपुरको नौतले दरबार सर्वसाधारणका लागि खुला


काठमाडौं- भूकम्पले क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणपछि मंगलबारदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ। हनुमानढोकामा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गर्दै यसको ऐतिहासिक महत्वलाई उजागर गरे।

अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा आयोजित सो कार्यक्रममा मन्त्री पाण्डेले पुनर्निर्माणमा सहयोग पुर्‍याएको चीन सरकारप्रति आभार व्यक्त गरे। उनले भूकम्पपछिको पुनर्निर्माणमा देखिएको प्राविधिक सीप र परम्परागत निर्माण कलाको समेत प्रशंसा गरे।

‘लिच्छवीकालमा जस्तै आज पनि दक्ष कलाकारहरू छन् भन्ने प्रमाण काष्ठमण्डप र नौतले दरबार पुनर्निर्माणले देखाएको छ,’ मन्त्री पाण्डेले भने। साथै, नेपालका ऐतिहासिक सम्पदाप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको भन्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास जारी रहेको जानकारी पनि उनले दिए।

प्रतिक्रिया