शिक्षकप्रतिको ओलीको व्यङ्ग्य: फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकप्रति कडा व्यङ्ग्य गरेका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी फेल हुनु ‘मज्जाको कुरा’ भन्ने शिक्षक मानसिकताको आलोचना गरे।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा आफूलाई गाली गर्ने एक शिक्षकको भनाइ उद्धृत गर्दै शिक्षा प्रणालीको गुणस्तरमाथि गम्भीर प्रश्न उठाए। उनले भने, “४८ प्रतिशत पास हुनु भनेको धेरै हो भन्नुहुन्छ, त्यो सोचले हाम्रो युवापुस्ताको भविष्य नै चट पारेको छ।” यस प्रसंगमा उनले शिक्षकको नाम नखुलाएर भने, “फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?हाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो।”

प्रधानमन्त्रीले शिक्षकसँग व्यक्तिगत रिस नभए पनि यस्तो ‘मेण्टालिटी’ ले देशको भविष्य धरापमा पर्ने चेतावनी दिए। उनले शिक्षा क्षेत्र सुधारका लागि सरकार प्रयत्नशील भएको बताए, तर केवल सरकारको प्रयासले मात्र नहुने र शिक्षकहरूको सोच र जिम्मेवारीको पनि परीक्षण आवश्यक भएको औंल्याए।

उनले नेपाली विद्यार्थीहरूलाई ‘दुर्गमबाट आएका ट्यालेन्ट’ भनी प्रशंसा गर्दै यस्ता प्रतिभाहरूलाई शिक्षा प्रणालीले निराश नबनाओस् भन्ने चाहना व्यक्त गरे।

प्रतिक्रिया