

राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध मजदुरहरू एकजुट हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले उनीहरूविरुद्ध सचेत खबरदारी गर्न मजदुरहरूलाई आग्रह गरेका छन् ।
बिहीबार १३६औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले राजावादीहरूको अराजकता १५ चैतको तीनकुनेको हिंसात्मक र दानवीय घटनाबाट स्पष्ट रूपमा देखिएको बताए । ‘असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगे के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ सचेत हुनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेकाले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा आफूहरूले नै गर्नुपर्ने बताए ।

