

स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्टहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं— प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिवार्य स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्टहरू बिहीबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।
स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट र फार्मेसी अध्ययनरत विद्यार्थी) ले ११ बुँदे मागसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूको प्रमुख मागमध्ये, प्रत्येक वडास्थित स्वास्थ्य संस्थामा सहायक फर्मासिस्टको स्थायी दरबन्दी कायम गर्नुपर्ने, करार सेवाका जनशक्ति हटाएर लोकसेवा आयोगमार्फत स्थायी दरबन्दीमा नियुक्त गर्नुपर्ने र पारिश्रमिक स्वास्थ्य सेवा तहअनुसार फर्मासिस्टलाई सातौं तथा सहायक फर्मासिस्टलाई पाँचौं तहको दिनुपर्ने उल्लेख छ।
फर्मासिस्ट सुनिल गौतमका अनुसार, “स्थानीय तहले मनोमानी ढंगले करारमा राख्ने प्रथा हटाउनुपर्छ, योग्य जनशक्ति लोकसेवामार्फत ल्याइनुपर्छ।”
त्यस्तै, खाद्यपूरक सामग्रीको गुणस्तरमा कडाइ गरी अनियमित बिक्री वितरणमा रोक लगाउनुपर्ने, नेपाल औषधि लिमिटेडमा उत्पादित औषधिहरू सम्पूर्ण सरकारी अस्पताल र विभागमा अनिवार्यरूपमा राख्नुपर्ने माग समेत अघि सारिएको छ।
फर्मासिस्टहरूको अर्को प्रमुख माग, संघीय संरचनाअनुसार औषधि व्यवस्था विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सातै प्रदेशमा स्थापना गर्नुपर्नेछ।
फर्मासिस्टहरूले सार्वजनिक स्वास्थ्यमा औषधिको भूमिका अत्यन्त महत्वपूर्ण भएकाले योग्य र प्रशिक्षित जनशक्ति स्थायी दरबन्दीमा राख्नुपर्नेमा जोड दिएका छन्।

