विश्वकप छनौट : स्पेनको पहिलो जित, इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड
काठमाडौं – स्पेनले विश्वकप फुटबल २०२२ को छनोटमा पहिलो जित हात पारेको छ । अतिरिक्त समयमा स्पेनका लागि स्ट्राइकर डेनी ओल्मोले गोल गर्दै जित सुनिश्चित गरे । पछिल्लो २८ वर्षमा विश्वकप छनौटको कुनै खेल नहारेको स्पेन हाफटाइमसम्म ०–१ ले पछाडि रहेको थियो ।
जर्जियाका लागि भिचा कभ्रात्शकेलियाले ४३ औं मिनेटमा गोल गर्दै स्पेन ०–१ ले पछाडि परेको थियो । छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा स्पेनले जर्जियामाथि २–१ को जित हात पारेको हो । म्यान्चेष्टर सिटीका फेरन टोरसले जोर्डी अल्बाको क्रसलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
५६ औं मिनेटमा बराबरी गोल फर्काए पनि खेल १–१ को बराबरीमा सकिने त्रासका बीच थपिएको समयमा ओल्मोले गोल गरे । अन्तिम दुई मिनेटमा गरेको गोलले स्पेनको जित सुनिश्चित भयो । छनोट अन्तर्गतको तेस्रो खेलमा स्पेनले बुधबार कोसोभोको सामना गर्नेछ । पहिलो खेलमा स्पेन ग्रीससँग १–१ को बराबरी खेलेको थियो ।
पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डविरूद्धको खेल खेल्न नसक्ने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको जनाइएको छ ।
विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्की घाइते भएका थिए । उनी १० दिन मैदान बाहिर रहने पोल्याण्डको फुटबल टिमले जनाएको छ ।