

हवाई सेवा विधेयक संस्था टुक्र्याउन होइन, प्रणाली बलियो बनाउन : मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक- २०८१ संस्थालाई टुक्र्याउनभन्दा पनि प्रणालीलाई बलियो बनाएर हवाई सेवा सुरक्षित र भरपर्दो बनाउनका लागि ल्याएको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा यससम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, प्रणालीलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय छविलाई सुदृढ पार्न विधेयक केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
मन्त्री पाण्डेले भने- ‘यो विधेयकले संस्थालाई टुक्र्याउनेभन्दा पनि प्रणाली कसरी बलियो बनाउने, दक्ष जनशक्ति कसरी निर्माण गर्ने र प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित गर्ने र हाम्रो अन्तर्राष्ट्रिय छविलाई कसरी सुदृढ पार्ने भन्ने विषयमा केन्द्रित छ ।’
नेपाल हवाई सेवा प्राधिकरण र नागरिक उड्डयनसँग सम्बन्धित विषयमा संसद्मा व्यापक छलफल भइरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने- ‘भोलि नियामक निकायको विषयमा छलफल गर्नेछौं। आजका विषय पनि भोलि पूरक प्रश्नको रुपमा आउनेछन्। नेपालको आकाशलाई गतिशील र सुरक्षित बनाउनुपर्ने चुनौती छ। यस चुनौतीलाई समाधान गर्न सबै माननीयज्यूहरुको राय र सल्लाह अनुसार आवश्यक परिमार्जन गर्दै लैजानेछौं ।’
पर्यटन क्षेत्र नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिबाट लाभ उठाउने अवसर भएको उल्लेख गर्दै उनले भने, ‘त्यसका लागि नेपालको नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशील र सुरक्षित हुनुपर्छ ।’ मन्त्री पाण्डेले भूगोलजन्य चुनौतीहरू र मौसमका अस्थिरताका कारण नागरिक उड्डयन क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको बताए ।
नेपालको पर्यटन र हवाई क्षेत्रमा सम्भावना र चुनौतीहरु दुबै भएको उल्लेख गर्दै मन्त्री पाण्डेले सडक यातायातबाट गन्तव्य पुग्न धेरै समय लाग्ने हुँदा हवाई क्षेत्र छोटो समयमा गन्तव्यमा पुर्याउने सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘सोही सम्भावना उपयोग गर्न पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको र त्यसको सकारात्मक संकेत देखिएको छ,’ मन्त्री पाण्डेले भने ।
नागरिक उड्डयन क्षेत्र सुधारका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हाको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको र उक्त संयन्त्रमार्फत बृहत छलफल भइरहेको उहाँले बताउनुभयो। “हामी हवाई नीति परिवर्तनको तयारीमा छौं। छाता ऐन अर्थात् हवाई ऐनको काम पनि अघि बढिरहेको छ,’ मन्त्री पाण्डेले स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय र स्वदेशी यात्रुका बिमा सुविधामा ठूलो अन्तर रहेको भन्दै उहाँले त्यसको समायोजन र पुनरावलोकनका लागि नयाँ ऐन निर्माण भइरहेको पनि जानकारी दिए । साथै, हवाई दुर्घटनापछिका अनुसन्धान र संस्थागत मेमोरी व्यवस्थापनका लागि स्थायी संरचना बनाउने गरी तयारी भइरहेको मन्त्री पाण्डेले बताए ।
उच्चस्तरीय अध्ययन समितिबाट प्राप्त सिफारिसलाई ऐन र नीतिमा समावेश गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए । समितिमा छलफल हुँदा मन्त्रालयका कार्यक्षेत्रका विषयमा गहिरो छलफल हुने गरेको उल्लेख गर्दै उनले थपे, ‘आज यहाँ संसद्मा मन्त्रालयको विषयमा जसरी धारणा राख्नुभएको छ, म ती कुरामा खुसी भएको छु। हामी अझै छलफल गरेर, संशोधन प्रक्रियामार्फत यसलाई अझ प्रभावकारी बनाउन सक्छौं ।’

