

चिकित्सकहरूले गरे स्वास्थ्य मन्त्रालय घेराउ, सेवा बन्दको चेतावनी

काठमाडौं– न्यूनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा माइतीघर मण्डलाबाट ¥याली निकाल्दै मन्त्रालयतर्फ जाँदै गरेका चिकित्सकहरूलाई प्रहरीले रोक्दा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
प्रदर्शनका क्रममा चिकित्सकहरूले “श्रमको सम्मान गर”, “भत्ता हाम्रो अधिकार हो”, “श्रम शोषण बन्द गर !”, “मेडिकल माफिया, मुर्दावाद !” जस्ता नारा लगाएका थिए। प्रहरी र चिकित्सकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार आवासीय चिकित्सकलाई आठौँ तह बराबरको तलब दिनुपर्ने माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । संघले माग पुरा नभए वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
संघले यसअघि पनि पटक–पटक सरकारसँग संवादको प्रयास गरेको जनाएको छ । तर, कार्यान्वयनको पक्ष कमजोर रहेकाले आन्दोलन चर्काउन बाध्य भएको जनाइएको छ ।
चिकित्सकहरू स्वास्थ्य मन्त्रालयमा धर्ना दिएपछि जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । उनीहरूले आजै देशभरका सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमअन्तर्गत काठमाडौं सीडीओ कार्यालयसमेत घेराउ गरेका छन् ।
चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिए पनि सरकारले चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
संघले सरकारसँग यथाशीघ्र संवाद र माग सम्बोधनको आग्रह गर्दै बेवास्ता गरे सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ।

