

बजारको माग घटेपछि रोकियाे सिटामोलकाे उत्पादन

काठमाडौं – सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले चर्चित ब्रान्ड सिटामोल को उत्पादन अस्थायी रूपमा बन्द गरेको छ। मागअनुसार बिक्री नहुँदा डेढ–दुई करोड रुपैयाँ बराबरको स्टक रहँदा उत्पादन रोकिएको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले बताए ।
उनका अनुसार, यस वर्ष स्वास्थ्य मन्त्रालयले सिटामोल खरिद नगरेकाले मौज्दात नघटेसम्म नयाँ उत्पादन सुरु नहुने स्पष्ट भएको छ । “फिनिस्ड प्रोडक्टको म्याद दुई वर्ष मात्र हुने भएकाले स्टक धेरै हुँदा बजारमा ‘निअर एक्सपाइरी’ भनेर औषधि नकिन्ने जोखिम रहन्छ,” पनेरुले भने ।
लिमिटेडसँग कच्चा पदार्थ पर्याप्त भए पनि उत्पादन गर्ने औचित्य नरहेको जनाइएको छ । निजी कम्पनीहरूसँगको मूल्य र छुट प्रतिस्पर्धामा कमजोर भएका कारण सिटामोलको बजार अंश घटेको बताइएको छ ।
२०७९ सालमा सरकारबाट २४ करोड रुपैयाँ सहयोगको निर्णय भए पनि रकम हालसम्म नपाएको लिमिटेडले जनाएको छ। यद्यपि, संस्थाले दुई चरणमा काम गर्दै औषधि उत्पादनमा १० प्रतिशत वृद्धि गरेको छ ।

