चिकित्सकीय लापरवाहीबाट मृत्यु भएको भन्दै भिमाका परिवारलाई १५ लाख क्षतिपूर्ति दिन आदेश


सुर्खेत-  चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै दैलेखकी भिमा गुरुङका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला जिल्ला अदालत सुर्खेतले गरेको छ ।

२८ चैत २०८० मा सामान्य पेट दुखाइको समस्या लिएर कर्णाली प्रदेश अस्पताल गएकी भिमा गुरुङको २९ चैतमा मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण भिमाको ज्यान गएको दाबी गर्दै न्यायको माग गरेका थिए ।

मृतकका जेठाजू धन मगरले १७ वैशाखमा जिल्ला अदालतमा क्षतिपूर्तिको माग गर्दै निवेदन दर्ता गराएका थिए । अदालतले अस्पतालका निर्देशक डा. डम्बर खड्का, डा. ललितजंग शाही लगायतलाई विपक्षी बनाएर दायर मुद्दामा पीडित पक्षलाई १५ लाख क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।

न्यायाधीश दीपक ढकालको इजलासले बुधबार फैसला सुनाएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

भिमाको मृत्युपछि उनका आफन्तले वीरेन्द्रनगरमा एक सातासम्म आन्दोलन गरेका थिए । पीडित परिवारले भिमाकी आठ महिनाकी छोरीको पालनपोषण, परिवारका एक सदस्यलाई रोजगारी, र घटनाको छानबिनको माग राखेका थिए । जब कुनै निकायबाट सुनुवाइ भएन, उनीहरू अदालत पुगेका थिए  ।

मुद्दामा पीडित पक्षबाट अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए । अदालतमा मृतकका नाबालिका छोरीको हकहित, संरक्षण र दोषीमाथि कारबाहीको माग समेत गरिएको थियो ।

प्रतिक्रिया