भाइरल भिडिओको वास्तविकता: किन प्रहरीले त्रिभुवन विमानस्थलमा युवकलाई नियन्त्रणमा लियो ?


काठमाडौं- आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भएकाे एक भिडिओले प्रहरीको भूमिकाबारे अनेक प्रश्न उठाइरहेको छ ।  भिडिओमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै ट्याक्सी पार्किङ क्षेत्रमा एक युवकलाई तीन जना प्रहरीहरू विमानस्थलतर्फ लैजाँदै गरेका दृश्य देखिन्छन् ।

भिडियो भाइरल भएपछि धेरैले प्रहरीमाथि आलोचना गर्दै कारबाहीको मागसमेत गरेका छन् । तर, घटनाको वास्तविकता भने भिडिओमा देखिएजस्तो मात्रै होइन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज प्रधानका अनुसार उक्त घटना शनिबारको हो । भिडिओ प्राप्त भएपछि प्रहरीले घटनालाई सीसीटीभी फुटेजसँग मिलाएर अध्ययन गरेको थियो । अध्ययनपछि खुलेको विवरण अनुसार ती युवक सो दिन बिहान ११ बजे एक विदेशी गन्तव्यबाट नेपाल फर्किएका थिए ।

विदेशबाट फर्किएपछि ती युवक भन्सारमा सामान जाँच गर्ने क्रममा हैरान भए । प्रहरीका अनुसार युवकको स्वभाव शर्ट टेम्पर प्रकारको थियो र उनले सो प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै आक्रोश व्यक्त गरे । सामान जाँचपछि उनी सीधा ट्याक्सी पार्किङतर्फ लागे जहाँ उनले ट्याक्सी चालकसँग विवाद गरे ।

विवाद चर्किँदै जाँदा हानाहानको स्थिति आएपछि ड्युटीमा खटिएका प्रहरीले युवकलाई नियन्त्रणमा लिन बाध्य भए । नियन्त्रणको प्रयासका क्रममा युवकले प्रतिरोध गरेपछि केही धक्कामुक्की भएको थियो ।

विमानस्थलभित्र पुर्याएपछि युवककी श्रीमतीले प्रहरीसँग संवाद गरेकी थिइन् । संवादपछि युवकलाई उनको श्रीमतीको जिम्मा लगाएर पठाइएको थियो ।

यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

 

प्रतिक्रिया