प्रधानमन्त्रीले शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ : नैनसिंह महर


काठमाडौं- कांग्रेसको शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग आइतबार कुराकानी गर्दै नेता महरले सरकारसँग विगतमा भएका सहमति अनुसार शिक्षकहरूका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाउनुपर्ने बताएका हुन्।

‘मन्त्रिपरिषदको बैठक डाकेर सम्बोधन गर्न सकिने मागहरू पुरा गरिदिनुपर्छ, ‘उनले भने, ‘बाँकी समय विद्यालय शिक्षा विधेयकमा समेट्ने गरी समय तालिका बनाएर अघि बढ्नुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका महरले शिक्षकहरूलाई वार्तामा बोलाएर उनीहरूका जायज माग छिटोभन्दा छिटो पूरा गरिदिनुपर्ने बताए । उनले भने, ‘शैक्षिक आमहताल घोषणा गरेर आन्दोलनरत शिक्षकहरूको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता संवाद गरेर निष्कर्षमा पुग्नुपर्छ।’

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू ११ दिनदेखि काठमाडौंमा आन्दोलित छन्। आफ्ना मागहरू पूरा नभए जिल्ला नफर्किने उनीहरूले चेतावानी दिएका छन्।

प्रतिक्रिया