

उदयपुरमा बाढीले निर्माणाधीन पुल भत्कायो, दुई करोडको क्षति

उदयपुर बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो ।
‘त्यहाँ राखिएका तारहरू २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो,’ उनले भने, ‘यसको बीमा गरिएको हुन्छ । अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।’
पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ ।
सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।

