शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : सभापति देउवा


काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।

कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरसहित शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन् ।

सभापति देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जानकारी दिए ।

शिक्षा विभाग प्रमुख महरले कांग्रेस शिक्षकको साथमा रहेको भनाइ राखेका थिए । उनले भने, ‘‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापति देउवाले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ ।’’

सभापति देउवासँगको शिक्षकहरूको छलफल निकासका लागि उत्साहजनक भएको भनाइ नेता महरको छ ।

यस्तै, नेपाल शिक्षक सङ्घका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल निकै उत्साहजनक रहेको दाबी गरे । सभापति देउवाले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईलाई फोन गरेर शिक्षकका माग सम्बोधनमा गम्भीर हुन र निर्णायक छलफल गर्न ध्यानाकर्षण गराउनुभएको जानकारी पनि पन्तले दिए ।

प्रतिक्रिया