

गुरागाईं कार्यालय फर्केपछि बालेनको ‘ब्याकफुट’

काठमाडौं- काठमाडौं महानगरपालिकामा पछिल्लो समय देखिएको असामान्य राजनीतिक परिस्थिति अब ‘शक्ति सन्तुलन’ तर्फ मोडिएको देखिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनः हाजिरीसँगै मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो एक सातादेखि कार्यालय नआएको घटनाले यसतर्फ संकेत गरेको छ ।
२१ चैतमा गुरागाईंले कार्यालयमा हाजिर गरेपछि बालेन कार्यालय नआएको महानगर स्रोतले जनाएको छ । गैरकानुनी तवरले काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै बालेनले उनलाई विगतमा ‘अघोषित निलम्बन’ गरेका थिए । तर, उपमेयर सुनीता डंगोल, वडा अध्यक्षहरू, महानगर कर्मचारी र संघीय सरकारको मिलेजुले दबाबपछि गुरागाईं करिब चार महिनापछि पुनः कार्यक्षेत्रमा फर्किए ।
बालेनले गुरागाईंलाई कार्यालय प्रवेशमा रोक्न नगर प्रहरी प्रयोग गर्नेसम्मको तयारी गरेका थिए । तर, गुरागाईंको प्रवेशप्रति महानगरभित्रै व्यापक समर्थन देखिएपछि बालेन अलग्गिएको देखिन्छ । २१ चैतमा बालेन काभ्रेपलाञ्चोकतर्फ लागेका थिए र त्यसयता औपचारिक रुपमा कार्यालयमा उपस्थित भएका छैनन् ।
महानगर स्रोतका अनुसार बालेन हाल ‘कार्यालय बाहिरको’ भूमिकामा सिमित छन् । कहिले अवलोकन भ्रमण, कहिले भेटघाट, कहिले घरमै ।

