

रास्वपा केन्द्रीय सदस्य ज्वालाविरूद्ध मुद्दा दर्ता

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।
‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्या छ,’ आदेश आएको केही बेरमै उनले लेखेकी छन् । त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी छन् ।
अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले अवहेलना मुद्दा दायर गरेका हुन् ।

