

स्वास्थ्य चौकीमै लडेर बेहोस भएका अहेवको निधन

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सिनियर अहेव दिनेशप्रसाद जोशीको निधन भएको छ । मालिकार्जुन–६ को उकु स्वास्थ्य चौकीमा कार्यरत जोशीको सोमवार उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
जोशी सोमवार बिहान ११ बजे स्वास्थ्य चौकीमै लडेर बेहोस भएका थिए । जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको हो।
पस्ती पुग्दा जोशीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । जोशीको निधनको शोकमा गाउँपालिकाले मङ्गलवार विदा दिएको छ ।
मालिकार्जुन गाउँपालिकाभित्र अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू मङ्गलवार बन्द रहने छन् । जिल्लाकै लेकम गाउँपालिका–३ मकन्ना पुर्ख्यौली घर भएका जोशीको परिवार हाल कञ्चनपुर बस्दै आएका छन् ।

