

सरकार आफ्नो औचित्य पुष्टि गर्न असफल : शेखर कोइराला

काठमाडौं — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकारले जनतासामु आफ्नो औचित्य प्रमाणित गर्न नसकेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा डा. सुमन कर्मचार्यको कृति कात्रोमा खल्ती विमोचन गर्दै उनले सरकार प्रमुख एजेन्डाबाट विमुख भएको टिप्पणी गरे ।
उनका अनुसार संविधान संशोधनलाई प्राथमिकता दिँदै सरकार गठन गरिएको भए पनि नौ महिनासम्म कुनै ठोस तयारी नगरेको कारण सरकारले आफ्नो औचित्य गुमाएको हो । उनले भने, “यो सरकार बनाउँदा संविधानमा सुधार गर्ने आशा गरिएको थियो, प्रधानमन्त्रीले पनि संसदमा त्यसको प्रतिबद्धता जनाउनुभएको थियो। तर नौ महिना बितिसक्दा पनि त्यसमा खासै पहल देखिएको छैन ।”
सुशासनको नाममा सरकारले गर्भनर नियुक्तिको मापदण्ड नै परिवर्तन गरेकोप्रति पनि उनले आपत्ति जनाए । “यदि आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्नका लागि मापदण्ड फेरिएको हो भने, त्यसले देशको अर्थतन्त्रलाई गम्भीर असर पार्न सक्छ,” कोइरालाले चेतावनी दिए ।
उनले सम्पत्ति शुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको सिधा मातहतबाट हटाउनुपर्ने धारणा राखे । साथै, राजनीतिक नेतृत्वमा सुधार ल्याउन नेताहरूले स्पष्ट इच्छाशक्ति देखाउनुपर्ने उनले बताए ।
नेता कोइरालाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि खिल्ली उडाउने कार्य स्वीकार्य नहुने उल्लेख गर्दै, वर्तमान सरकारलाई लोकतन्त्रमाथि मजाक गर्न छुट नरहेको बताएका छन् ।

