

कुलमान र हितेन्द्रको रिटको पेसी प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा

काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा परेको छ । उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ ।
यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन्।

