माओवादीको जागरण अभियान पुनः स्थगित, नेताहरू काठमाडौंतर्फ


काठमाडौ‌ – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ ।

गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।

उक्त अभियान बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो । चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ । त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको आचार्यले बताएका छन् । आज सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको भेटवार्ता समेत हुँदैछ ।

‘नेताहरू आजै काठमाडौं फर्कदै हुनुहुन्छ,’ उनले सुनाए । काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिनेछ ।

अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ ।

अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ ।

नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ ।

प्रतिक्रिया