दलितको घर भत्काइएको घटनामा संसदीय समिति गठनको माग


काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरंगी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । ‘दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,’ उनले भने, ‘यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।’

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदांगो पारिदिएको बताए । घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उनले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञका नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर बजरंगी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया