

सरकारी आवास भवन एनजिओको कब्जामा, कर्मचारी भाडाका घरमा

बैतडी- बैतडीको एक सरकारी आवास भवन गैरसरकारी संस्थाको नियन्त्रणमा रहेको पाइएको छ । जिल्लाको पाटन नगरपालिकामा रहेको सो सरकारी भवनलाई एक गैरसरकारी संस्थाले आफ्नो कार्यालय तथा कर्मचारी आवासका रूपमा प्रयोग गरेको खुलासा भएको छ ।
पाटन नगरपालिका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टका अनुसार, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण डोटीले सो भवन आफ्नो निवासका लागि प्रयोग गर्दा नगरपालिकाका कर्मचारीलाई समस्या भएको छ । “हाम्रा कर्मचारीहरू भाडा तिरेर बस्न बाध्य छन्, तर जनप्रतिनिधिहरूले नै सो भवन बस्न दिनुपर्ने बताएका छन्,” उनले भने ।
नगरपालिकासँग साझेदारी नभए पनि सो संस्थाले भवन आफ्नो नियन्त्रणमा लिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले वनसँग सम्बन्धित विवाद समाधान गर्ने छलफल तथा पैरवी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी, नगरपालिकाको उद्यम विकास शाखाले उद्यमीहरूका सामग्री राख्न बनाएको एकतले भवनलाई प्रहरीले आवासका रूपमा प्रयोग गरिरहेको छ । उद्यमी तथा कृषकहरूले आफ्ना उत्पादन भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको सो भवन ट्राफिक प्रहरीले आफ्नै निवाससरह प्रयोग गरिरहेको स्थानीयहरूले गुनासो गरेका छन् ।

