लोडसेडिङबारे मन्त्री र कुलमानकाे फरक भनाइ, यथार्थ सार्वजनिक गर्न सांसद गैरेको माग


काठमाडौं-  नेपालमा लोडसेडिङबारे ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच फरक फरक भनाइ आएको छ । यसबारे नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारलाई यथार्थ बाहिर ल्याउन माग गरेका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा मन्त्री खड्काले नेपालमा लोडसेडिङ हुनसक्ने संकेत गरेका थिए भने प्राधिकरणका निर्देशक घिसिङले लोडसेडिङ नहुने दाबी गरेका थिए । यो विरोधाभाषपूर्ण अभिव्यक्तिप्रति सांसद गैह्रले आपत्ति जनाउँदै जनतालाई भ्रमित पार्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।

उनले भने, “हिजो मन्त्रीज्यू भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो । अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ हुँदैन, ढुक्क हुनुस् । एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो ?”

सांसद गैह्रले सरकारकै गलत सूचनाले जनतामा अन्योलता सिर्जना गरेको उल्लेख गर्दै विद्युत् आपूर्तिको स्पष्ट योजना ल्याउन माग गरे । उनले सरकारले विद्युत व्यवस्थापनको दीर्घकालीन समाधानबारे सोच्नुपर्ने बताए ।

मन्त्री खड्काले लोडसेडिङ हटाएको जस भारतलाई दिनुपर्ने बताएपछि यो विषय झन् विवादित बनेको छ । सांसद गैरेले नेपाल र भारतबीच विद्युत खरिदबिक्री व्यापारिक प्रक्रिया भएको बताउँदै, यसलाई नकारात्मक रूपमा नबुझ्न आग्रह गरे ।

सरकारभित्रै लोडसेडिङबारे फरक फरक सूचना प्रवाह हुनु आपत्तिजनक रहेको सांसद गैह्रको भनाइ छ । उनले सरकारलाई भ्रम सिर्जना नगरी वास्तविकता जनतालाई स्पष्ट रुपमा बताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया