३ दशकको मेलम्ची सपना पुरा: काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी


काठमाडौं- लामो प्रतिक्षारत काठमाडौंवासीको मेलम्ची सपना पुरा भएको छ।

आइतबार काठमाडौंका केही स्थानमा परीक्षणका रुपमा धारामै पानी खसालिएसँगै झण्डै ३ दशकको मेलम्ची सपना पुरा भएको हो।

मेलम्चीको पानी काठमाडौं खानेपानी संस्थान केयुकेएलले वितरण गरेको छ। आइतबार दिउँसो साढे २ बजे अनामनगर, मिनभवन, खुमलटार, महांकाललगायतका क्षेत्रमा साढे ४ करोड लिटर पानी पठाइएको हो।

यी क्षेत्रहरुमा गरिएको परीक्षण सफल भए दोस्रो चरणमा थप स्थानमा पानी पठाउने तयारी केयुएकेएलले गरेको छ। परीक्षणका रुपमा पठाइएको पानी तत्काल पिउनका लागि भने योग्य नभएको केयुकेएलले जनाएको छ।

‘पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना छ’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

 

 

प्रतिक्रिया