आन्दोलनका कारण नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण ठप्प


काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य स्थानीयबासीको आन्दोलनका कारण तेस्रो दिन पनि पूर्ण रूपमा ठप्प भएको छ।

खानेपानी व्यवस्थापनसम्बन्धी ८ सुत्रीय माग अघि सार्दै नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिले आइतबारदेखि निर्माण क्षेत्रमा धर्ना दिंदै आन्दोलन जारी राखेको छ। स्थानीयबासीले यसअघि पनि करिब एक दर्जन पटक विभिन्न माग राखी विरोध प्रदर्शन गरिसकेका छन्।

आन्दोलनका कारण सुरुङ मार्गमा भइरहेको ढलान तथा सडक कालोपत्रे गर्ने कार्य अवरुद्ध भएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार इभ्याकुएसन टनेलको भुइँमा भइरहेको ढलान कार्य र सडकमा कालोपत्रे गर्ने काम पूर्ण रूपमा रोकिएको छ। हालसम्म यो आयोजनाले ९२ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ।

स्थानीयवासीले प्रभावित क्षेत्रमा दीर्घकालीन रूपमा पानीको उपलब्धता, सञ्चालन, मर्मत सम्भार लगायतका जिम्मेवारी सरकारले लिनुपर्ने मुख्य माग राखेका छन्।

आयोजनाले आफ्नै खर्चमा बोरिङ जडान गरी हाल पानी आपूर्ति तथा मर्मत सम्भार गरिरहेको छ। तर, स्थानीयबासीले दीर्घकालीन रूपमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन्।

यद्यपि, आयोजनाले स्थानीय नगरपालिकासँग सम्झौता गरिसकेको छ, तर स्थानीयहरू नगरपालिकाले पछि पानी व्यवस्थापनमा चासो नदिने तथा शुल्क असुल्ने आशंका व्यक्त गर्दै विरोध जारी राखेका छन्।

प्रतिक्रिया