हिमतालहरुको संरक्षणका लागि बजेट विनियोजन गर्छौंः मन्त्री खड्का


काठमाडौं- काठमाडौं ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन् ।

सोमबार ललितपुरको हिमालय होछलमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए । उनले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताए ।

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गरे ।

मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए ।

सोही कार्यक्रमको दोस्रो शत्रमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित बाटलसेट परियोजना अन्तर्गत रंगुन जलाधार क्षेत्रको सिकाइका बारेमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

रुडुकका राष्ट्रिय निर्देशक डा कृष्ण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जलाधार परियोजनाको कार्यान्वयनका सन्दर्भमा अक्सफामका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले प्रस्तुतिकरण गरेका थिए ।

साथै, रंगुन जलाधार क्षेत्रको सम्भावना र चुनौतीका बारेमा परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीले जानकारी प्रदान गरेका थिए ।

नगर प्रमुख जोशीले उक्त जलाधार क्षेत्र अन्तर्गत समुदायका व्यक्तिहरू, स्थानीय तह र विभिन्न साझेदार निकायहरूले मिलेर वृक्षारोपणका अभियान, पानीको शुद्धता मापन कार्य र पानीको बहुउपयोगिताका सम्बन्धमा जल यात्रा कार्यक्रम सञ्चालन गरिएकोबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया