सार्वजनिक जग्गाको संरचना रोक्न पुगेका वडाध्यक्षमाथि रड प्रहारको प्रयास


पाेखरा- पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन नदिएको निहुँमा स्थानीय भूपेन्द्र गिरीले वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहारको प्रयास गरेका छन् ।

शनिबार वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधि र नगर प्रहरी उक्त स्थानमा पुगेका थिए । पोखरीमा घर निर्माण रोक्न खोज्दा गिरी आक्रोशित भएका थिए । सुवेदीका अनुसार, गिरीले चेतावनी बेवास्ता गर्दै पोखरीमाथि नै संरचना बनाउन थालेपछि नगर प्रहरीसहित उनीहरू अनुगमन गर्न पुगेका थिए । त्यही क्रममा गिरीले रड प्रहार गर्न खोज्दा स्थानीय श्रीराम सिग्देलले हस्तक्षेप गरी गिरीको हात समातेका थिए । त्यसपछि वडाध्यक्ष सुवेदीले पनि गिरीलाई नियन्त्रणमा लिएर आफूलाई जोगाएको बताए ।

निर्मलपोखरीस्थित सो पोखरी स्थानीयले हिउँदमा गाईभैंसीलाई पानी खुवाउन प्रयोग गर्दै आएका थिए। पानीको अभाव भएका बेला यो पोखरी नै स्रोतका रूपमा रहेको थियो ।

घटनापछि वडाध्यक्ष सुवेदीले आइतबार वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् । उनले गिरीविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । तर, प्रहरी प्रशासनले अहिलेसम्म कुनै खोजबिन नगरेको उनको गुनासो छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त घटनाको निन्दा गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण आवश्यक रहेको बताएका छन् । साथै, उनले महानगरबासीलाई सार्वजनिक जग्गा जोगाउन सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया