एकै साता अष्ट्रेलियामा दुई नेपालीको मृत्यु
मेलबर्न- अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपालीकाे मृत्यु भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको आगलागीमा परेर ज्यान गएको हो ।
मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौंका विशाल केसीको आगलागीबाट परी मृत्यु भएको छ । उनी बस्दै आएको घरमा भाइटीकाको दिन आगलागी भएको थियो ।
आगलागी कसरी भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । केसी गएको १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका थिए ।
यस्तै चितवन घर भई भिक्टोरियाको बालाराटमा बस्दै आएका निशान्त सिंहको पनि मृत्यु भएको छ ।
सिंह चढेको कारलाई अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई तत्कालै एयर एम्बुलेन्समार्फत नजिकैको अस्पतालमा लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
उनी काठमाडौंको चावहिलमा बस्दै आएका थिए । पछिल्लो समय सिभिल इन्जिनियरका रूपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए ।
प्रहरीले दुर्घटनामा संलग्न अर्को कारका चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
हाल उनको शव पोष्टमार्टमका लागि लगिएको छ भने प्रक्रिया पुगेपछि आफन्तलाई जिम्मा लगाउने प्रहरीको तयारी छ ।
दुवै शव नेपाल पठाउने तयारी भइरहेको बताइएकाे छ ।