कांग्रेस युवा नेताको पहलमा ‘युवा संकल्प यात्राः मेचीनगरदेखि महेन्द्रनगर’ अभियान


काठमाडाैं – नेपाली कांग्रेसका युवा नेताहरुको पहलमा ‘युवा संकल्प यात्राः मेचीनगरदेखि महेन्द्रनगर’ अभियान हुने भएको छ ।

राजधानीमा आयोजित एक विशेष समारोहमा अभियानबारे जानकारी दिँदै कांग्रेसका युवा नेताहरुले अभियान यही २३ गते पूर्वी नेपालको झापा जिल्लाको मेची नगरबाट सुरु हुने जनाइएको छ । १२ दिनसम्म चल्ने उक्त अभियान सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा समापन हुने जनाइएको छ ।

युवा संकल्प यात्राको नाम दिइएको उक्त अभियानको यात्राको दौडानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

यात्राको क्रममा युवाका साथै स्थानिय नागरिक समाज, बौद्धिक वर्ग र बिभिन्न क्षेत्रका नागरिक तथा युवाहरुसँग मुख्यतः भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, युवा उद्यमशीलता, नवप्रवर्तन, कृषिमा लगानी, समग्र क्षेत्रमा युवाको निर्णायक भूमिका स्थापना लगायतका विषयमा गहन छलफल, अन्तरक्रिया र दवावमूलक कार्यक्रमहरु हुने जनाइएको छ । यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर युवा हितका क्षेत्रमा निरन्तर काम गरिनेछ । युवा संकल्प यात्राले नेपाली कांग्रेस र युवाहरुबीच स्थापना हुने सम्बन्धले नेपालको लोकतान्त्रिक आन्दोलन, कांग्रेसको रुपान्तरण र युवाविकासका क्षेत्रमा थप क्रियाशील रहन सबैलाई उत्प्रेरित गर्नेछ भने समग्र रुपमा युवा बर्गलाइ केहि गरौ भन्ने हौसला र नया सम्भाबनाको एउटा सकारात्मक सन्देस प्रबाह हुने पनि जनाइयो ।

यस अभियानमा भुपेन्द्र जङ शाही, रन्जित कर्णा, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, सेख ओकिल, मेदनि सिटौला, चन्द्रादेबि जोशि, राधिका हमाल, उदिराम खड्का, लेलिया बिश्वकर्मा, सुनिल थापा,  बिनोद खनाललगायतका युवा नेताहरूले पहल गरेका छन् ।

कार्यक्रमहरूः

२३ गते मेचीनगर, झापा

२४ गते इटहरी  (मोरङ र सुनसरि)

२५ गते लाहान  (सप्तरी र सिराहा)

२६ गते जनकपुर (धनुषा र महोत्तरी )

२७ गते लालबन्दी  (सर्लाही र रौतहट)

२८  गते बिरगंज  (बारा र पर्सा)

२९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर)

३० गते वुटवल (नवलपरासी,  रूपन्देही र कपिलबस्तु)

मङ्सिर १ गते लमहि, दाङ

२ गते विरेन्द्रनगर, सुर्खेत

३ गते कोहलपुर (बाँके र बर्दिया )

४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)

 

अभियानका १० बुँदे एजेण्डा

१.युवालाई रोजगारीको सुनिश्चितता

योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौं नेपाली युवा विदेशिन बाध्य छन् । स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्नेछ ।

२. भ्रष्टाचार उन्मुलन र सुशासन

देशमा पटक पटक राजनितिक परिवर्तन भएपनि पनि जनताको जिवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार नै हो। तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्नेछौं ।

३. महँगी र मूल्यवृद्धि नियन्त्रण

देश नछोडेकाहरुलाई महंगीले छाडेको छैन । दैनिक जीवनका अपरिहार्य आवश्यतासँगै शिक्षा र स्वास्थ्य पनि पैसाको बलमा मात्रै प्राप्त हुने वतावरण छ । सबै क्षेत्रको महंगी नियन्त्रण गर्ने, कालाबजारीलाई कारवाही गर्ने र अनुचित मूल्यवृद्धि नियन्त्रण गर्नका लागि आवश्यक खबरदारी गर्नेछौं ।

४. सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता

देशभरका विभिन्न सहकारीमा सर्वसाधारणले दुःख गरेर राखेको बचत रकम मुठ्ठीभर मान्ेछहरुको संगठित अपराधका कारण हिनामिना भएको छ । सयौं सहकारीमा लाखौं नेपालीले बचत गरेको अर्बौ रुपैयाँ बचत फिर्ता गराउन युवा संकल्प यात्राले जस्तोसुकै पहल गर्नेछ ।

५. विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही

सहकारी बचतकर्ताको रकम फिर्तासँगै सहरकारी ठगहरुको कारवाही जरुरी छ । सहकारी ठगहरु उम्किए भने जनता फेरी नयाँ ढंगले ठगिन्छन् । त्यसैले सहकारी ठग जो भएपनि, जुनसुकै पार्टीको भएपनि कारवाही गराउन युवा संकल्प यात्राले दवाव सिर्जना गर्नेछ ।

६. उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी

आर्थिक क्रान्तिका कुरा धेरै भए तर काम भएनन् । नेपाली कांग्रेसकै नेतृत्वमा आर्थिक सुधारको पहल गर्नेछौं । युवाहरुलाई उद्यमशीलता, नवप्रवर्तन र कृषिमा उत्प्रेरित गर्नेछौं । त्यसका लागि आवश्यक पहल युवा संकल्प यात्राले गर्नेछ ।

७. हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व

जनसांख्यिक दृष्टिकोणले नेपाल युवाबाहुल्य देश हो । युवा जनसंख्याको लाभ लिन नसकेर धेरै युवाहरु विदेशीन बाध्य छन्। आज तिनै युवाहरुले पठाएको रेमिट्यान्सको भरमा देश चलाइरहेका छौं । युवा संकल्प यात्रा नेपाली समाजका हरेक क्षेत्रमा युवाहरुको अर्थपूर्ण प्रतिनिधित्वको पक्षमा छ । सक्षम युवाहरुलाई सर्वत्र प्रतिनिधित्व गराउन हामी पहल गर्नेछौं ।

८. नागरिकमैत्री सरकार

सरकार जनताको सेवक हुनुपर्ने हो, तर नेपालमा सरकारले सधै जनतामाथि शासकीय रवैया प्रस्तुत गर्दै आइरहेको छ । सरकारमा पुगेकाहरुले जनताको सरोकार बिर्सने प्रथाविरुद्ध युवा संकल्प यात्रा छ । सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा संकल्प यात्राले गर्नेछ ।

९. नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत

दिनप्रतिदिन नागरिक जीवन कष्टकर बनिरहने र सरकारले सुशासन र विकासको गफ हाँकिरहने प्रवृत्तिबीच विरोधाभास छ । कुनैपनि नेपालीले सहज र सरल जीवनयापन गर्न पाउनुपर्छ । त्यसका लागि राज्यले बढी भन्दा बढी सहुलियत र राहत उपलब्ध गराउनुपर्छ । युवा संकल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिनेछ ।

१०. नैतिक मूल्य मान्यतामा आधारित राजनीति

सबै नीतिहरुको पनि महानीति भनेर राजनीतिलाई भनिन्छ । राजनीतिको मूहान नै धुमिल भयो भने समाजका अन्य क्षेत्रहरुपनि स्वच्छ रहन सक्दैनन् । यसर्थ नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको राजनीतिलाई नैतिक, सिद्धान्तप्रेरित र मूल्य मान्यतामा आधारित बनाउन जरुरी छ । युवा संकल्प यात्राले नेपालको राजनीतिलाई स्वच्छ, स्वस्थ र नैतिक मूल्य मान्यतामा आधारित बनाउनका लागि पहल गर्नेछ ।

प्रतिक्रिया