

दोहोरो चरित्र देखाउँदै रास्वपा: दिउँसो सरकारविरुद्ध चर्का नारा, राति रवि छुटाउन हारगुहार

काठमाडाैं- आफ्ना पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार काठमाडौंको बालुवाटार नजिक विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्र बाहिर विरोध प्रदर्शन गरेको हो ।
सुरुका केही दिन पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपा अहिले काठमाडौंमा दिनहुँजसो विरोधका कार्यक्रम गरिरहेको छ । प्रदर्शनका क्रममा रास्वपा नेता कार्यकर्ताले , ‘केपी चोर देश छोड’, ‘राजनीतिक प्रतिशोध साँधन् पाईदैन्’, ‘दुई तिहाईंको दम्भ नदेखा’ लगायतका चर्का नारा लगाइरहेका छन् ।
तर त्यहि पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई सिंहदरबारमा भेटेका छन् । यति मात्रै हाेइन उनीसहित प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको खुलेको छ । बालुवाटार पुगेर पूर्वमन्त्रीसमेत रहेका डोलप्रसादले रास्वपा र एमालेबीचको विगतको निकट्ता कोट्याउँदै रविलाई छाडिदिन आग्रह गरेको बालुवाटार स्रोतको दाबी छ ।
अर्यालले गृहमन्त्री र प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक प्रतिशोध नलिएर रवि विरुद्धको अनुसन्धान कमजोर पारिदिन आग्रह गरेको स्रोत बताउँछ । उनीहरूले रविलाई हिरासतबाहिर राखेर अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने आशयले रास्वपाका नेताहरू प्रस्तुत भएकाे स्राेतले बताएकाे छ ।
दिनभरी ओलीविरुद्ध चर्को नाराबाजीगरेर साँझ ओली नै भेट्न बालुवाटार पुगेको भन्दै एमालेजन आक्रोशित बनेका छन् ।

