साफ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल


काठमाडाैं – साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने दाउका साथ आज नेपालले भारतविरुद्ध खेल्दैछ।  खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो। जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो।

यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो। जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० ले हराएर समूह ‘बी’ विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

आजै पहिलो सेमिफाइनलमा गत विजेता बङ्गलादेश र भुटानबिच पनि प्रतिस्पर्धा हुने छ। यो खेल दिउँसो साढे एक बजे दशरथ रंगशालामै सुरु हुनेछ।

प्रतिक्रिया