अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की सिडिओकाे आग्रह
पोखरा- कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिएपछि सिडिओ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गर्दै भने, ‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन ।’
विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्णयलाई मान्नुपर्ने पाण्डेले बताए । पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्याइएको थियो । आज उनलाई अदालतमा पेस गरिँदै छ ।