प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए ।
चिनियाँ नेता छेनले आफू महासचिव चिङफिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट गरेको प्रधानमन्त्रीको सचिवालयले दाबी गर्यो ।
उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए ।