

महेश बस्नेत र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा ‘अर्थपूर्ण’ भेट

काठमाडौं– नेकपा एमाले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत र जनता समाजवादीका सांसद रेशम चौधरीबीच डिल्लीबजार कारागारमा अर्थपूर्ण भेटवार्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका खास मानिने बस्नेतले चौधरीलाई शुक्रबार बिहान कारागार पुगेर भेटेका हुन्। चौधरीको मुद्दा फिर्ता लिने विषयमा सरकार सकारात्मक रहेको र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि वार्ता परिणाममुखी भइरहेको बेला यो भेटलाई सत्ता समीकरणसँग जोडेर हेरिएको छ।
यसबीचमा चौधरीले पार्टीको निर्णय मान्ने वक्तव्य निकाल्नु, गृहमन्त्री रामबहादुर थापा बादलले चौधरी छुटाउन भइरहेको संघर्षलाई सकारात्मक सम्बोधन गर्नुलाई पनि जसपासँगको समीकरणको विषयमा अर्थ लगाइएको छ।
उच्च स्रोतका अनुसार सरकारले चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिँदै अदालतको फैसला पुनरावलोकनका लागि पनि प्रक्रिया अघि बढाउनेछ। जसपाले चौधरीको रिहाई र प्रतिनिधि सभामा सहभागीतलाई सत्ता समीकरणको एजेन्डा मध्ये प्रमुख बनाउँदै आएको छ।

