भारतीय पूर्वराजदूत उपाध्यायका छोराको कोल्ड स्टोरेजमा कालोधन्दा !


काठमाडौं – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० चेतरादेई गाउँ नजिकै रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले भन्सार छली भारतबाट अवैध रूपमा कृषि सामग्री भित्र्याउने र कालोबजारी गर्ने गम्भीर आरोपका कारण चर्चामा आएको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता र भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरा आशिष शर्माको स्टोरेजले राजनीतिक प्रभावका कारण कालो धन्दा गरिरहेका छन् । शर्माले आफ्नो बुवाको राजनीतिक शक्तिको दुरुपयोग गर्दै ‘कालो व्यापार’ चलाइरहेको स्रोतले दाबी गरेको छ ।

स्थानीय प्रशासन, प्रहरी र केही सञ्चारकर्मीसँगको मिलेमतोमा शर्माले भारतबाट प्याज ल्याएर कोल्ड स्टोरेजमा लुकाएर नेपाली बजारमा पठाउने गरेको खुलासा भएको छ ।

उनले भारतीय नाकाबाट भन्सार छल्दै प्याज नेपाल भित्र्याउने र त्यसपछि नेपाली कागजात बनाइ अर्घाखाँची, गुल्मी, पाल्पा लगायतका जिल्लामा बेच्ने गरेका छन् । आशिष उनका बुवा उपाध्याय भारतीय राजदूत भएको बलमा भारततिर पनि प्रभाव जमाउन सफल भएका छन् ।

सूत्रका अनुसार आर्थिक प्रभाव पारेर प्रहरी प्रशासन र सञ्चार माध्यममा समाचार प्रकाशनमै आउने गरेको छैन ।

उनले कोल्ड स्टोरेज व्यवस्थापनको लागि एक जना स्थानीयलाई खासगरी प्रशासन र प्रहरीसँग सेटिङ मिलाउनका लागि कर्मचारीकै रुपमा राखेका छन् । ती कर्मचारीले प्रहरी, प्रशासन र अन्य सम्बन्धित पक्षलाई मिलाएर अवैधधन्दा प्रश्रय दिने काम गरेका छन् ।

असोज १८ गते भारतबाट कमलोड देखाई नेपाल भित्र्याउने नाममा ल्याइएको दुई ट्रक प्याज प्रहरीले नियन्त्रणमा लिएको थियो, जसको बजार मूल्य ५७ लाख रुपैयाँभन्दा बढी थियो । यो प्याज पनि एग्रीवस्तु कोल्ड स्टोरेजको लागि ल्याइएको पुष्टि भएपछि यो काण्ड झन् विवादास्पद बनेको छ ।

त्यसका साथै शर्माले तस्करीकै लागि जंगलको छेउमा पारेर स्टोरज वातावरणीय प्रभाव मूल्यांकन (आईईई) स्वीकृति प्राप्त नगरी सञ्चालन गरेका छन् ।

स्थानीय प्रशासन र राजनीतिक दबाबले गर्दा उनले कानुनी प्रक्रिया पूरा नगरी सो संरचना निर्माण गरेको बताइएको छ । यसले सरकारी निकायहरूको नैतिकता र पारदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया