एक्सनमा काभ्रे एसपी खड्काः बाढी-पहिरो पीडित ८७ जनाको हेलिकोप्टरबाट उद्धार (भिडियोसहित)

रोशी, तिमाल, चौरीदेउराली र भुम्लु हेलिकोप्टरबाट ८७ जनालाई उद्धार, सयौं उद्धारको प्रतिक्षामा


धुलिखेल – २ दिनदेखिको अविरल वर्षापछि समस्यामा परेका स्थानीयलाई काभ्रेमा हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाका रोशि, तेमाल, चौंरीदेउराली, भुम्लुलगायतका स्थानबाट हालसम्म ८७ जनाको उद्धार गरिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले जनाइन् ।

प्रमुख जिल्ला अधिकारी २ महिनादेखि बिदामा रहेको अवस्थामा जिल्लाबासीमा परेको प्राकृतिक विपत्तिको उद्धार कार्यको कमाण्ड गरिरहेकी एसपी खड्काले घाइतेहरुको अवस्था हेरि उद्धार गरिएको जनाइन् । उद्धार कार्यको संयोजन गरिरहेकी खड्का अहिले आफैं फिल्डमा खटिएर आवश्यक व्यवस्थापन गर्नुका साथै निर्देशन दिइरहेकी छिन् ।

रोशी, तेमाल, र पनौतीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । रोशीको गाउँनै खोलाले बगाएको छ । ती क्षेत्रहरुमा सयौं व्यक्ति उद्धारको प्रतिक्षामा रहेका छन् । उनीहरुको पनि प्राथमिकताको आधारमा उद्धार गरिने एसपी खड्काले जनाइन् ।

त्यस्तै बीपीराजमार्गस्थित नेपालथोक नजिकै सुनकोशीले सडकले बगाएको छ । त्यसबाट बीपीराजमार्ग हुँदै राजधानी भित्रँदै गरेका ३ हजार भन्दा बढी यात्रु अलपत्र परेको पनि एसपी खड्काले जनाइन् ।

जिल्लामा ठूला मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको उनले जनाइन्। विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ ।

कतिपय स्थानमा ठूलो हेलिकोप्टर ल्याण्ड गर्न नसक्ने भएकोले उद्धार कार्यमा केही ढिलाइ हुन गएको समेत उनले जनाइन् । त्यसका लागि उनले सानो हेलिकोप्टरको पहल भइरहेको समेत जनाइन् ।

त्यस्तै पनौती -१२ बाट पनि हेलिकोप्टरबाट ३ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया