इच्छाशक्तिलाई विकट भूगोलले छेकेन: सुगमबाट ‘डाक्टरी’ पढ्न कर्णालीमा


कर्णाली – कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत २ गतेबाट चिकित्सा शिक्षाको स्नातकोत्तर तहको पढाइ प्रारम्भ गरेको छ ।

गत साउन ३० गते चिकित्सा शिक्षा आयोगको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसको बैठकले प्रतिष्ठानका लागि ‘एमडिजिपी इन जनरल प्राटिक्स्’,‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेसँगै यही शैक्षिक सत्रमा अध्ययन अध्यापनको कार्य शुरु गरिएको हो ।

हिजो प्राविधिक तथा स्वास्थ्यको मात्र होइन, साधारणतर्फको उच्च शिक्षाका लागि मुलुकको मुटु मानिदै आएको काठमाडौँलगायत देशका विभिन्न शहर धाउने कर्णालीले आज स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइ शुरु गरेर देशलाई नौलो सन्देश प्रवाह गरेको छ । इच्छाशक्तिलाई विकट भूगोलले छेक्दैन भन्ने गतिलो उदाहरण प्रतिष्ठान जुम्लाले प्रस्तुत गरेको छ ।

स्वास्थ्यलगायतका उच्च तहको शिक्षाका लागि अन्तमा भए पनि काठमाडौँ जाने कर्णालीले यतिबेला काठमाडौँस्तरकै स्वास्थ्य शिक्षा हामी जुम्लाबाट दिन्छौं भनेर प्रस्ताव ग¥यो । जसअनुसार डाक्टर मात्र होइन, विशेषज्ञ डाक्टरको जनशक्ति तयार गर्ने तहको चिकित्सकीय शिक्षा अध्ययन गर्न पहिलो पटक कर्णाली बाहिरको जनशक्ति पढ्न जुम्ला भित्रिएको छ ।

स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्ययनका लागि जुम्ला पुग्ने व्यक्ति काठमाडौँं उपत्यकाभित्रको जिल्ला भक्तपुर निवासी डा रहिस कोजु छन्, उनी जनरल प्राक्टिस् इन इमरजेन्सी मेडिसन पढ्न कर्णाली पूगे। कर्णालीको इतिहासमा प्रतिष्ठानले पहिलोपटक विशेषज्ञ तहको चिकित्सा शिक्षा अध्ययन अध्यापन कार्य शुरु गरेको पहिलो वर्षमै उनी पढ्न जुम्ला पूगेका हुन् । उनले जनरल प्राक्टिस इमरजेन्सी मेडिसनमा अध्ययन शुरु गरेका छन् ।

त्यस्तै विशेषज्ञ चिकित्सा शिक्षा अध्ययनका लागि दार्चुला जिल्ला निवासी डा।ललितसिंह धामी र कपिलवस्तुका डा.वेदकुमार चौधरी जुम्ला पुगेका छन् । डा.धामीले एनेस्थेसिया र डा।चौधरीले पेडियाट्रिक्स् (बालरोग) मा अध्ययन थालेका छन् । तीनै जनालाई प्रतिष्ठानले पढाउँदै छ । काठमाडौँलगायतका देशका सुविधा सम्पन्न शहरहरुमा बसेर उच्च शिक्षा हासिल गर्ने र ती ठाउँ बाहेक अन्त भविष्य नदेख्ने हाम्रो दृष्टिकोण भने यो अवसरले बदल्दिएको छ ।

दुर्गमबाट पनि सुगमको शिक्षा लिन सकिने नौलो अनुभूति र उत्साह लिएर अध्ययनका लागि कर्णाली आइपुगेको र यो अवसर प्राप्तिले खुशी बनाएको डा कोजुले बताए । डा धामी र चौधरीले फरक पृष्ठभूमिमा रहेर पढ्न पाउने अवसर कमैले पाउने र त्यो मौका आफूहरुलाई मिलेको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया