बेंगलुरुमा हत्या गरिएकी लक्ष्मी डडेल्धुराकी, जसको शवलाई टुक्रा-टुक्रा बनाएर फ्रिजमा राखिएको थियो


काठमाडाैं- गत शनिबार भारतकाे बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको विभत्स हत्यापछि  शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको घटना बाहिर आएको थियाे । ती २९ वर्षीया मृतक  महालक्ष्मी दासकाे पुख्र्यौली घर डडेल्धुरा भएकाे खुलेकाे छ । हाल उनकाे परिवार झारखण्डमा बस्दै आएकाे थियाे ।  बेंगलुरुको व्यालिकवल क्षेत्रमा बस्दै आएकी उनकाे शव दिउँसो फेला परेकाे थियाे ।

सुरूमा उनी बस्ने फ्ल्याटबाहिर दुर्गन्ध आएपछि घरधनीले उनकाे परिवारलाई फोन गरेका थिए । घरधनीले फाेन गरेपछि महालक्ष्मीकी आमा र बहिनी फ्ल्याटमा पुगेका थिए । उनहरू त्यहाँ पुग्दा महालक्ष्मीकाे फ्ल्याटकाे अगाडिको ढोका बाहिरबाट बन्द थियाे । कोठाबाट दुर्गन्ध आइरहेको थियो । उनीहरुले १६५ लिटरको सिंगल डोर फ्रिजबाट केही किरा निस्किरहेको देखे । फ्रिज खोल्दा सडेको शव देखेपछि दुवै बेहोस भएका थिए ।

दुर्गन्धले घरधनीलाई पनि चक्कर लाग्यो । उनी तुरुन्तै त्यहाँबाट बाहिर निस्केर प्रहरीलाई बोलाए । महालक्ष्मी एउटा मलमा काम गर्थिन् । उनले व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा फ्ल्याट भाडामा लिएकी थिइन् । उनी त्यहाँ एक बेडरूमको फ्ल्याटमा एक्लै बस्थिन् । भवन मालिक जयराम सोही भवनको भुइँ तल्लामा बस्छन् । उनको विवाह हेमन्त दाससँग भएको थियो । उनीहरूको विवाह भएको ६ वर्ष भएको र उनीहरूको एक छोरी पनि छिन् । तर, घरायसी विवादका कारण दुवै जना नौ महिनाअघिदेखि अलग बस्न थालेका थिए ।

महालक्ष्मी पाँच महिनादेखि त्यहाँ बस्दै आएको छिमेकीले बताएका छन् । सुरुका दिनमा उनका दाजु पनि उनीसँगै बस्थे ।

महालक्ष्मी हत्या प्रकरणमा श्रीमानले महालक्ष्मीका प्रेमी अशरफ हत्यारा हुनसक्ने दाबी गरे तर प्रहरीले महिलाका पति हेमन्त दास र कपाल काट्ने अशरफलाई लामो समयसम्म सोधपुछ गर्यो । दुवैलाई सोधपुछ गरेपछि प्रहरीले हत्यामा दुवैको कुनै भूमिका नभएको निष्कर्ष निकालेको छ । सेप्टेम्बर २ देखि सेप्टेम्बर १९ सम्म दुवैको मोबाइल लोकेशन र कल डिटेल रेकर्डमा त्यस्तो केही फेला परेन ।

पुख्यौली घर डडेल्धुराको आलिताल 

महालक्ष्मीको मुल घर डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ लामजिल्ले घर भएका करनसिंह रानाकी छोरी रहेको खुलेको छ ।

सानैमा महालक्ष्मीका बुवा करनसिंह राना रोजगारीका लागि भारत गएका थिए । उनले डडेल्धुराबाटै बिहे गरेर भारतको ब्याङ्लोरमा बस्दै आएको आलिताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए ।

‘उहाँको पुख्र्यौली घर यतै हो । सानैमा रोजगारी गर्न करन कामी भारत गएका हुन् । लामोसमय पछि उनले यहाँ आएर नेपाली नागरिकता बनाएर गएका छन् । तर उनका छोराछोरी कोही पनि यता बस्दैनन् । उनीहरु उतै जन्मेको हुर्केको हुन् ‘ उनले भने ।

करन सिंह राना नेपाली थर कामी रहेको बुझिएको छ । करनका बुवाको थर कामी हुँदा करनसिंह रानाले पनि कामी थरबाट नै नेपाली नागरिकता बनाएको बुझिएको छ भने भारतीय कागजपत्रमा राना थर रहेको बुझिएको छ । ६०  वर्ष पहिलेदेखि नै आफूहरु भारतमा बस्दै आएको महालक्ष्मीका भाई हुकुम सिंह रानाले बताए ।

आराेपीले गरे आत्महत्या

लक्ष्मीकाे को क्रूर हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेका छन् । मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो ।

प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो । तर,  सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् । ओडिशा पुलिसले उनीविरुद्ध पहिले नै अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिसकेको छ।

यो पनि

भारतमा नेपाली महिलाको क्रुर हत्या, फ्रिजमा भेटिए लासका ३२ टुक्रा

 

प्रतिक्रिया