अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ


काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, उदयपुरको कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।

उता झापाको झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यायल धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता सिराहाका मिर्चैया नगरपालिका-६ कटारी चौकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया