सार्वजनिक क्षेत्रका अधिकांश सिसिटिभी बिग्रिए : अपराध नियन्त्रणमा समस्या


लमजुङ – लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ ।

जिल्लामा हालसम्म ४४ वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये आठ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ओमप्रकाश पुनले बताए । बेँसीशहर नगरपालिकामा जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये हाल चार र मध्यनेपाल नगरपालिकामा जडान गरिएका १२ वटा सिसिटिभीमध्ये चार गरी आठ बटा मात्र सञ्चालनमा रहेको र अरु सबै बिग्रिएका छन् ।

बेँसीशहरमा जडान गरिएका सिसिटिभी गत वर्षको पुससम्म १२ वटा सञ्चालनमा आए पनि सोहीमध्ये पनि बिग्रिएर तीन महिनादेखि चार वटा मात्रै सिसिटिभीले काम गरिरहेको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

बेँसीशहर बजारका फुलबारी, नारायणस्थान, भीमसेनस्थान, मनाङेचौतारा, शेराबजार, मजुवाखोला, ठाडोलाइन लगायतका स्थानमा सिसिटिभी जडान गरिएको छ । तर बिग्रए पश्चात् लामो समयसम्म पनि मर्मत नभएकाले अधिकांश सिसिटिभीले काम नगरेको प्रहरीले जनाएको छ । उनले सिसिटिभी जडान भएका क्षेत्रमा विभिन्न पसलमा मोबाइल चोरी गरेका तीन/चार जना र विभिन्न घटना घटाउँदै गएका केही व्यक्तिलाई समातेका थियौँ भन्दै सिसिटिभी बिग्रिँदा प्रहरीलाई पनि अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।

उनका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

रु २० लाख बराबरको २४ वटा सिसिटिभी विसं २०७४ जेठ १८ गते जडान गरिएको थियो । बेँसीशहर नगरपालकाभित्रका सिसिटिभीको मर्मतसम्भारको जिम्मा दुई वर्षदेखि नगरपालिकाले लिँदै आएको छ । तर समयमै मर्मतसम्भार हुन नसक्दा अधिकांश क्यामराले काम गरेका छैनन् । बेँसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलका अनुसार केही समयअघि बसेको कार्यपालिका बैठकले मर्मतसम्भारका लागि रु साढे चार लाख बजेट छुट्याएको हुँदा चाँडै मर्मतको काम शुरु हुने बताए ।

प्रतिक्रिया