बाँसको झ्याङभित्रको जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ


विराटनगर — मोरङको ग्रामथान गाउँपालिका—४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गर्दै जुवाखालबाट १८ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला –१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान —१५ का ४५ वर्षीय युवक राई, दुहबी –६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक –१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा –१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथानकै ५५ वर्षीय अहिलाल माझी र लेटाङ –९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।

शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीका अनुसार जुवा खालबाट १८ लाख ५१ हजार ५०० रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ ।

प्रहरीका अनुसार ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र जुवा खाल बनाएर खेल्दै आएको पाइएको छ ।

प्रतिक्रिया