नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, २६ लाख क्षतिपूर्तिको फैसला सदर


बाँके- उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गरेकाे छ । अदालतले मृतक परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ साउन ३१ गते क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् ।

ज्वरो आएर अस्पतालको इमरजेन्सी वार्डमा लैँजादा बिरामीको उपचारमा हेलचेक्र्याइँ गरिएको, ओजिटी गर्न आएका सिकारू विद्यार्थीलाई उपचारमा संलग्न गराएको दाबीसहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५०, ५१ र ५२ अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा लापरवाही गरेको भन्दै उपचार गर्ने भनिएका चिकित्सकका विरुद्धमा क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए ।

०७९ फागुन ११ गते बाँके जिल्ला अदालतमा मुद्दाको सुनुवाइ हुँदा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट क्षतिपूर्ति दिलाउने आदेश गरेको थियो ।

प्रतिक्रिया